अबको बाटो पुनर्स्थापकीय न्याय: राम तिवारी (Interview on Restorative Justice)

अबको बाटो पुनर्स्थापकीय न्याय: राम तिवारी 
 (http://nepalkanoon.com/2016/04/33000/बाट साभार गरिएको ।

सजायँको मात्रा जति बढाए पनि अपराधमा कमी आएन, जेलहरु भरिए न त पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्यो न त पीडक मैले गलत गरें भन्ने महसुस गरेर परिवर्तन नै भयो । समाजमा अपराधका मात्रा बढ्दा भए, मानिसहरुको अन्तर संबन्धहरुमा निरन्तर दरार आउँदा भए, समाजमा बिस्तारै सामाजिक अन्तरसम्बन्ध र एकता सद्भाव कमजोर बन्दै गए । जसलाई न्याय दिइरहेको भनिएको छ उनीहरुबाट न्याय नपाएको कुरा आउन थाल्यो । कतिपय चलन तथा प्रथाका नियमहरु कानुन विपरीत हुन थाले जस्ले कानुनले मात्र न्याय दिन्छ भन्नु गलत मान्न थालियो र कानुन र न्याय फरक कुरा हो भन्न थालियो । यिनै परिस्थितीवाट ई. सं. १९७० तिर अमेरिका तथा क्यानडामा विकाश भएको हो नयाँ न्यायको मान्यता Restorative Justice (पुनर्स्थापकीय न्याय) । यसै विषयका विज्ञ रहनु भएका अधिवक्ता राम तिवारी सँग नेपालकानूनले गरेको कुराकानी :

प्र: पुनर्स्थापकीय न्याय भनेको के हो ?

अंग्रेजीमा Restorative Justice भनिने शब्द नेपालीमा के भन्नेमा स्पस्ट भैसकेको त छैन तर पनि यसलाई पुनर्स्थापकी य न्याय वा पुनर्स्थापनामुखी न्याय भन्न सकिएला । यसको नेपाली नाममा एकरूपता नभए पनि वा जुनै नामको प्रयोग गरिएता पनि यसको मर्ममा कुनै भिन्नता छैन।

यसको मुख्य उदेश्य अपराध, द्वन्द्व तथा घटना, जुन समाजमा घटेको हुन्छ, त्यसले श्रृजना गरेको परिणामबाट पहिलाकै स्थितिमा ल्याएर आउने वा पुनस्थापना गर्ने, घटनाबाट दरार आएको वा टुटेको विश्वसनियतालाई पुनस्थापना गर्ने, पीडक र पीडित दुबै पक्षलाई समुदायमा घटना पूर्वकै अन्तरसम्बन्ध र अन्तरघुलनको अवस्थामा ल्याउने हो ।योसँगै भावना, मर्यादा, सम्बन्ध र भौतिक शरीरमा जे जति पीडा, दुखाई समस्या आएको हुन्छ, त्यसलाई पहिलाकै स्थितिमा ल्याउन प्रयास गरिने न्याय नै पुनर्स्थापकीय न्याय हो ।

प्र: अदालतमा जाने अपराध वा अन्य सामाजिक समस्या र यिनको समाजमा कस्तो असर परेको हुन्छ त ?

अहिलेको बुझाइमा अपराध भनेको राज्य र राज्यले बनाएको कानुन उल्लङघन गर्नु मात्र हो । त्यसैले जतिबेला सम्म राज्यले कुनै कार्यलाई अपराध भन्दैन त्यतिबेला सम्म त्यो कार्य अपराध होइन पनि । त्यसैले कुरा के भने अपराध हुँदा पहिला राज्यले बनाएको कानुन तोडिन्छ कि व्यक्ति-व्यक्तिबीचको सम्बन्ध ? त्यसैले अपराध हुँदा सबैभन्दा पहिला सम्बन्ध तोडिन्छ भन्ने बुझाइ नै पुनर्स्थापकीय न्यायको पहिलो र मुख्य बुझाइ हो ।

दण्ड सजायमार्फत दोषी मुकरर गरिएकालाई कुनै प्रकारको दण्ड दिइएला, जरिवाना गरिएला वा पीडितलाई क्षतिपुर्ति समेत भराइएला तर त्यसले, यसप्रकारको कार्यवाहीले के पीडितको पीडा कम भएको छ ? के पीडकले मैले गलत गरे वा अपराध गरे यस्तो गर्नु हुने थिएन वा अब आइन्दा गर्ने छैन भन्ने अनुभुत गर्न सकेको छ ? र के अदालतले दिएको कुनै फैसला आदेशले पीडक र पीडितको पुरानो सम्बन्धलाई स्थापित गर्न सक्यो ? कानून ब्यवसायी र न्यायालय हैन, पीडीतले न्यायको अनुभुती गर्नुपर्छ ।

जे कानूनले तोकिदिएको छ त्यस अनुसार फैसला हुन वा अदालती स्वविबेकमा पनि औपचारिक पक्षलाई महत्व दिई फैसला गरिनु यस्ता कार्यले अदालती औपचारिक कार्यवाही त पुरा हुन सक्ला तर न त पीडकले गल्तीको महसुस गर्ने अवस्था आउछ न त पीडितले उसको वास्तविक इच्छा अनुरुपको न्याय पाएको अनुभुति गर्दछ ।

प्र: भनेपछि कानून अदालतका औपचारिक मान्यताभन्दा माथि उठ्नु पर्यो न्यायालय न्याय प्रदान गर्ने हो भने  

हो वास्तवमा नै । उदाहरणको लागि कुनै आर्थिक हिसाबले सम्पन्न करोडौंको मालिक कुनै कारणले पीडित भएको रहेछ भने उसलाई अदालतले न्यायस्वरुप प्रदान गर्ने ५० हजार वा एकलाख रुपैया पाएर न्याय पाएको अनुभुत होला ? त्यस घटनामा के उसको आवश्यकता त्यही ५० हजार वा एकलाख रुपैँया मात्र होला ? यस्तो बेलामा उसको आवाश्यकता वा चासो पैसा नभई अरु नै हुन सक्छ जस्तो कि पुनः सुरक्षा, भोलि फेरि यस्तो होला कि भन्ने भय, गुमेको सामाजिक प्रतिष्ठा, यस्तै यस्तै । त्यस्तै गरी कुनै गरिब परिवारको मानिसमा परेको आहतमा सामान्य आर्थिक क्षतिपुर्ति पनि ठुलो महत्वको हुन सक्दछ र न्यायको सहानुभूति हुन सक्दछ । त्यसैले हामीले न्यायमा उपचार खोज्दै गर्दा, पीडीत र पीडकको वास्तविक आवश्यकताको पक्षलाई बुझ्नु पर्दछ । उनीहरुबीच कुनै न कुनै संवाद वा अन्तरकृयाको अवसर दिइनु पर्दछ ।

प्र: न्यायपालिका वा न्यायप्रणालीका कार्य कस्तो हुनु पर्दछ पुनर्स्थापकीय न्यायको दृष्टिकोणमा ?

त्यसैले हामीले न्यायमा उपचार खोज्दै गर्दा, पीडीत र पीडकको वास्तविक आवश्यकताको पक्षलाई बुझ्नु पर्दछ । उनीहरुबीच कुनै न कुनै संवाद वा अन्तरकृयाको अवसर दिइनु पर्दछ ।अब अदालतले न्याय दिने हो भने समाजमा सम्बन्धमा दरार ल्याउने होइन सम्बन्धमा नयाँ करार गर्ने, सम्ब्न्धलाई पुनः स्थापित गर्ने हुनु पर्दछ । कानुनले त हिसाब किताब बराबर गरिदिन्छ तर मुख्य कुरा तोडिएको सम्बन्ध जोडने प्रयास हालको प्रचलित अदालती न्याय प्रणलीले गर्न सकेको छैन । यसै कमजोरीको विकल्प हो पुनर्स्थापकीय न्यायको अवधारणा जसले न्याय प्रणालीको सजायसँगै सम्बन्ध पनि जोडिनु पर्छ भन्ने मान्यता राख्दछ ।

प्र: कुनै अपराधका घटनामा गुमेको कुरा ल्याउनै, आउनै नसक्ने सम्मका हुन्छन्, यस्तो बेलामा यसको प्रयोग तथा भुमिका कहाँ कसरी सम्भव नि ?

पुनर्स्थापकीय न्यायको विकाससँगै यस प्रतिका भ्रम पनि आएका छन् र यो प्रश्न पनि त्यस्तै एउटा भ्रमसँग जोडिएको छ । कतै यसलाई मेलमिलाप हो कि भनिन्छ, यो मेलमिलाप मात्र पनि होइन । कतै माफी दिने हो कि भनिन्छ, त्यस्तो पनि होइन । त्यस्तै जेल नै नपठाउने हो कि भन्ने पनि छ त्यो पनि होइन । पुनर्स्थापकीय न्यायको सही बुझाई के हो भने घटना घटिसकेपछि पनि मरेको मान्छे फर्केर त आउँदैन तर त्यस घटनाले परिणामहरु त छोडेर जान्छ नि । र ती परिणामहरु समाज र पीडीतले भोग्नै पर्छ । पीडीतको घटनापछिको आवश्यकता के हो त्यो कानुनले, न्यायलयले बुझ्नु पर्ने कि नपर्ने ? राज्यले क्षतिपुर्ति दिलाउँछ, आर्थिक रुपमा बेहोर्न लगाउछ, र पीडकलाई जेल भित्र राख्छ । पीडकलाई जेल पठाउदा मात्र पीडितको आवश्यकता पूरा हुन्छ त ? पीडित भावनात्मक तथा संबेगात्मक रुपमा पनि मर्माहत भएको हुन सक्छ त अरु कुनै औपचारीक दण्डले मन शान्ति गर्न न्यायको अनुभूत गराउन सक्ला ?

प्र: भनेपछि न्यायालयले अधिकांशतः विवेक कै पक्षमा रहेर काम गर्नुपर्यो होइनन्यायमा अनुभूति मुख्य कुरा रैछ होइन ?

हो । वास्तवमा न्याय भनेको अनुभुति पनि हो । न्याय दिए भनेर न्यायालय, वकीलहरु, न्यायाधीसहरुले भन्ने भन्दा पनि पीडितले न्यायको अनुभुति गरे वा गरेनन् ? अर्कोतर्फ हेर्दा न्यायालयले समाजमा अपराध जनित कार्यलाई पनि रोक्नु अर्को दायित्व हुन्छ न्याय सम्पादनकै सिलसिलामा । मतलव, न्याय र सफल अदालती कार्य त्यो हो जहाँ पीडितले अनुभुत गर्दछ न्यायको र अपराधमा संलग्नले गलत गरेको महसुस गरी पुनः त्यस्तो कार्य नगर्ने संकल्प गर्दछ जस्ले गर्दा समाजमा हुने अपराध र त्रसित वातावरण पनि कम हुदै जान्छ ।

न्यायालयको सफलता र प्रभावकारीता यसैसँग जोडिन्छ, यी मान्यता विपरीत भएर न्यायालय चल्नुमा कनै औचित्यता होला र? पीडितलाई फेरि त्यही पीडा दोहोरिने डर रहिरहेमा वा पीडामा सान्त्वना सम्म अनुभव नगरेमा त्यो न्यायले के गरेको मान्ने पीडितको लागि, के न्याय भएको मान्ने ? जेलमा पीडकलाई राख्दैमा मात्र उ सुध्रिन्छ भन्ने हुदैन उसलाई सुधार्न त्यहाँ के गरियो, उसले पीडितलाई दिएको पीडा वोध र त्यसउपर आलोचित महसुस गराउन पर्यो, र पीडितले पीडकलाई सोध्न पाउनु पर्यो कि किन उसले मलाई यस्तो व्यवहार गर्यो, आदि आदि ।

प्र: पुनर्स्थापकीय न्यायको सैदान्तिक पक्ष चाहिँ के हो ?

पुनर्स्थापकीय न्यायले खासमा न्यायमा पनि प्रजातान्त्रीकरण हुनुपर्यो भन्ने आवाज उठाएको छ । पीडितको पीडा र मनशाय हेरी पीडकलाई उनीहरुको इच्छालाई निर्णय प्रक्रियामा प्राथमिता दिनु पर्यो भन्ने मान्यता नै यसको वर्तमान समयको न्याय प्रणालीमा देखिएको औपचारिकताको व्यवहारिक विकल्प पनि हो ।

अहीलेको न्याय प्रणालीले अपराध गर्नेहरुलाई साँचो बोल्न र अपराध स्वीकार्न नै प्रेरणा दिदैन । कानुन व्यावसायी पनि आफ्नो पक्षको फाइदाकै लागि बोल्न सिकाउछन् यो भन्नुस् यो नभन्नुस् भनेर, भन्दैनन् साँचो बोल्नुस् भनेर । अनि यहाँ कसरी पीडक पीडितको पीडाप्रति जवाफदेही हुन्छ र उसलाई सुधारिने प्रेरणा र अवस्था जाग्दछ ? यसरी पीडक कहिल्यै सुध्रिदैन र पीडितसँग कहिल्यै माफी पनि माग्दैन साथै पीडितले कहिल्यै न्यायको अनुभुति गर्ने पनि भएन । यो नै पुनर्स्थापकीय न्यायले अदालती न्यायमा कमी देख्छ ।

प्र: यदि मात्रै पीडितले न्यायको अनुभुतिको लागि न्याय दिन खोज्ने हो भने यो कुरा फरक फरक होला, यसलई कसरी सम्धोन गर्न सकिन्छ ?

यो अत्यन्तै जायज सवाल हो । तर अहिले हामीले मानिआएको प्रणालीमा पनि, विभिन्न अपराधलाई विभिन्न अवस्थालाई सम्बोधन गर्न एउटै वा उस्तै कानुन बनाएका छौँ । अनि के यसले सबैको समाधान गरेको छ वा अपराधमा कमी गरेको छ त? छैन ।

न्याय प्रणालीले दुवै पक्षको आक्रोस, आबेगलाई व्यवस्थित गर्दै रेस्टोरेटीभ जस्टीसका सहजकर्ताको ठूलो भूमिका हुन्छ । पीडितले जे माग गर्छ सबै उपयुक्त नै छन् र पुरा हुनुपर्छ भन्ने पनि होइन तर पीडितले न्यायको अनुभव गर्नु पर्यो भने पीडकले आफ्नो गरेको अपराधको फेरी नदोहोर्याउने गरी जवाफदेही बन्ने वातावरण न्यायले बनाउनु पर्छ । अपराधले क्षति पुर्याउने भनेकै भावनालाई नै हो, यो एकदमै भावनासँगै जोडिएर आउछ ।

प्र: नेपालको सन्दर्भमा कस्तो यस्को प्रयोग? अवधारणा विकासबारे के यसको इतिहास ?

यो विषय नेपालमा औपचारिक प्रवेस गरेको धेरै भएको छैन तर अहिले छलफल र चासोको विषय भने बनेको छ । नेपालमा यससँग सम्बन्धित यसै प्रावधानलाई लक्षित गरेर कुनै कानुन छैनन्, तर केही संघसंस्थाहरु जसले मेलमिलापको अवधारणामा काम गरिरहेका छन्, तीनमा पुनर्स्थापकीय न्यायको प्रयोग गर्न थालेका छन् । नेपालमा पनि यसलाई अभ्यास गरिनु आवश्यक नै छ । एकै पटक धेरै त नहोला तर सुरुवातमा आर्थिक क्षतिपुर्ति मात्र क्षतिपुर्ति नमानी भावनात्मक र मनोवैज्ञानिक क्षतिपुर्तिलाई पनि बुझ्ने गरी परिभाषित गर्न सकिन्छ । त्यस्तै सबै कसूरमा जेल सजाय अनिवार्य हुन जरुरी छैन । सुधारगृहको अवधारणा बिकास गर्नु पर्ने देखिन्छ ।

प्र: पुनर्स्थापकीय न्याय अदालती प्रक्रिया कै पुरक हो या यसले त्यसलाई बिस्थापन नै गर्छ ?

यो भिन्न प्रणाली होइन । यो औपचारिक न्याय प्रणाली भित्र नै व्यवाहारिक रुपान्तरणको प्रस्ताव हो । यी दुवै एक अर्काका परिपुरक हुन् । कतिपय अपराध न्यायमा अदालती प्रक्रियाबाटै जानपर्ने हुन्छन् पनि । त्यसकारण पुनर्स्थापकीय न्यायले अदालती प्रक्रियालाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ होइन, सुधार गर्ने र कमजोरी हटाउने भन्ने मात्र हो र अपराधीलाई कारवाही मात्र नभई सुधार पनि गर्ने प्रक्रिया अपनाउनु नै यसको उद्देश्य हो । मनमा भएको पीडा लाई सम्बोधन गर्ने गरी, र पछिको सुरक्षाको प्रत्याभुति सहितको न्याय दिने प्रयत्न गर्ने कुरा अदालती प्रक्रीयामा सँगै लिनु पर्दछ ।

प्र: अन्त्यमा केही भन्नु

विश्वका धेरै उदाहरणले पुनर्स्थापकीय न्याय फाइदाहरु देखाएका छन् । हाम्रो न्याय प्रणालीमा पनि प्रजातान्त्रीकरण गरौँ र अपनाई रहेको न्याय प्रणालीमा भएका कमी कमजोरी हटाउन ढिलो नगरौँ । न्यायलाई पेशाकर्मीको परिधिबाट निकाल्नु आवश्यक छ । यसमा राज्य र अन्य सम्बन्धित सबै पक्ष लाग्नु पर्ने देखेको छु ।